Site icon ParisNepal.com – Nepali News From France

तमु समाज फ्रान्सले धुमधामका साथ मनायो ल्होसार (फोटो सहित)

फ्रान्स/ तमु समाज फ्रान्सले यहि ३० डिसेम्बरका दिन पेरिसमा ल्होसार बिशेष कार्यक्रम भब्य तरिकाले सम्पन्न गरेको छ। हरेक बर्ष फ्रान्सबासी नेपालीहरु माँझ ल्होसार मनाउदै आएको समाजले यसबर्ष पनि साँस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरेको हो।

आइतबार पेरिस नजिकै द्रन्सी मा सम्पन्न कार्यक्रममा कलाकारहरुले नेपाली मौलिकता झल्काउने गीत संगीतहरु प्रस्तुत गरे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली राजदुत महामहिम अम्बिका मानन्धर लुइंटेलज्यु हुनु हुन्थ्यो। फ्रान्स स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । तमु समाजका अध्यक्ष, प्रमुख अतिथि, बिशेष अतिथि ज्युहरुले पानसमा दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रम नेपाली राष्ट्रिय गितको धुन संगै अगाडी बढेको थियो ।

प्रमुख अतिथी महामहिम राजदुत लुइंटेलज्युले विशेष मन्तव्य दिँदै विदेशमा रहेर पनि गुरुङ समुदायको संस्कृती मार्फत नेपालको भेष भुषा, संस्कृती चिनाउन गुरुङ समुदायले गरेको प्रयासको प्रसंसा गर्दै सरकारको तर्फबाट आयोजकलाई धन्यवाद दिदै ल्होसारको शुभकामना दिनु भएको थियो।

समाजका अध्यक्ष चित्र गुरुङले कार्यक्रम सफल बनेको भन्दै नेपाली समुदाय प्रति आभार प्रकट गर्नु भएको छ। कार्यक्रममा तमु समुदायका साथै फ्रान्सबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। यस बर्ष तमुहरुले कुकुर वर्गलाई बिदाइ गर्दै मृग वर्गको स्वागत गरेर एकापसमा शुभकामना आदानप्रदान गरेर पर्व मनाएका हुन।

कार्यक्रमकै क्रममा परापूर्व कालदेखि समाजमा रहेको भुत प्रेतलाइ धपाउनका लागी गुरुङ समुदायहरुले मनाउदै आएको टोह्टे पर्वका केहि झलक प्रस्तुति गरिएको थियो। यसैका साथ कार्यक्रम समापन पछि गुरुङहरुको मौलिक सस्कार सस्कृति झल्काउने विभिन्न सास्कृतिक कार्यक्रमहरुले मनोरंजन दिलाएको थियो भने कार्यक्रम भरिनै खानपिनको राम्रो बेबस्था गरिएको थियो , अतिथि /पाहुनाहरुलाई रेखदेखमा विशेष ध्यान दिइएको थियो ।

अन्त्यमा डि जे म्युजिक धमाकाले सबै झुम्न बाध्य बनाएको थियो । तमु समाज फ्रान्सले विदेशमा भए पनि आफ्नो छुट्टै मौलिक तरिकाले प्रत्येक बर्षको ल्होसार भब्य रुपले मनाउदै आईरहेको छ।

Exit mobile version