Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सले स्थगित गर्‍यो इन्धनको करवृद्धि

इन्धनको मूल्यमा लगाइएको करवृद्धिको विरोधमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्सले पेट्रोलियम पदार्थको मूल्यमा गरेको करवृद्धि स्थगित गरेको छ।

करवृद्धिको विरोधमा तीन सातादेखि राजधानी पेरिसलगायत प्रमुख शहरहरूमा प्रदर्शन भइरहेको छ। त्यसक्रममा एक ८० वर्षीया वृद्धासहित ३ जनाको ज्यान गइसकेको छ।

प्रधानमन्त्री एडौर्ड फिलिपले प्रदर्शनकारीहरूसँग सम्झौता गर्ने प्रतिबद्धता जनाएका छन्। तर, अतिवादीहरूसँग नझुक्ने प्रधानमन्त्री फिलिपको भनाइ छ।

पहेंलो टी-सर्ट लगाएका प्रदर्शनकारीहरू सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेपछि तत्काललाई करवृद्धि फिर्ता लिने निर्णय सार्वजनिक भएको हो।

पेट्रोलियम पदार्थमा गरिएको करवृद्धिविरुद्ध सन् १९६८ यताको सबैभन्दा हिंसात्मक प्रदर्शन भइरहेको स्थानीय सञ्चारमाध्यमहरूको भनाइ छ। पछिल्लो वर्षदिनमा फ्रान्समा डिजेलको मूल्यमा करीब २३ प्रतिशतले वृद्धि भएको छ, जुन सन् २००० यताकै सबैभन्दा चर्को मूल्य हो।

Exit mobile version